
काठमाडौं, २० असार । कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि देखिएको छ ।
कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो ।
धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा प्रमुख डा. राजीव श्रेष्ठका अनुसार नेपालमा कोरोना संक्रमणका लागि ओमिक्रोनको बीए.२ सब भेरिएन्टलाई प्रमुख कारण मानिँदै आएकोमा अब बीए.५ सब–भेरिएन्टसमेत पुष्टि भएको छ ।
नयाँ सब–भेरिएन्ट पाइएको पुष्टिसँगै मास्कलगायत स्वास्थ्य मापदण्ड पालनामा खेलाँची गर्न नहुने डा. श्रेष्ठको भनाइ छ । ‘खुला ठाउँमा मास्क लगाउनु नै पर्छ हामी भन्दैनौं तर बन्द ठाउँमा मास्क लगाउनैपर्छ,’ उनले भने, ‘अबको कोभिड संक्रमणको प्रकृति हेर्दा फ्लु (मौसमी रुघाखोकी) विरुद्धको खोप जस्तै कोभिडविरुद्घको खोप बर्सेनि लगाउनुपर्ने हुन सक्छ ।’
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झाले पनि कोरोना संक्रमणको विस्तार नियन्त्रण रोक्न बढी सतर्कता अपाउनुपर्ने बताइन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को कोभिड महामारी सम्बन्धित २९ जुनको सूचनाअनुसार क्षेत्रीयस्तरमा दक्षिण–पूर्व एसियामा ३२ प्रतिशतले, पूर्वी भूमध्य क्षेत्रमा ४७ प्रतिशत, युरोपमा ३३ प्रतिशतले संक्रमण बढिरहेको छ । तर अफ्रिकी र पश्चिमी प्रशान्त क्षेत्रमा भने क्रमशः ३९ प्रतिशत र ३ प्रतिशतले कोरोना केस घटेको संगठनले जनाएको छ ।
छिमेकी भारतमा कोरोनाको ‘बीए.४’ र ‘बीए.५’ सब–भेरिएन्ट निकै संक्रामक देखिएको छ । भाइरसको यो उपप्रजातिका असरहरूका सम्बन्धमा अझै अध्ययन भइरहेका छन् । केही दिनयता नेपालमा कोरोना संक्रमणमा तीव्र विस्तार देखिएको छ । संक्रमण दर बढ्दै गएपछि नयाँ भेरिएन्ट वा सब–भेरिएन्ट भित्रिएको आशंका गरिँदै आएको थियो ।
कोभिड भाइरसको ओमिक्रोन भेरिएन्टका ‘बीए.५’ र ‘बीए.४’ सब भेरिएन्टहरू संक्रमणका कारण र खोपका कारण शरीरमा विकसित प्रतिरक्षा क्षमता छल्न सक्षम रहेको दाबी गरिएको छ । – कान्तिपुर दैनिकबाट
