हरियो मकै बेच्नेमाथि महानगर प्रहरीको लछारपछार
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिकाले शुक्रबार मात्र एक सूचना जारी गर्दै काठमाडौंका सडकमा भीख माग्न नपाउने जनाएको थियो । तर, शुक्रबार नै पेट पाल्नका लागि काठमाडौंका सडकमा हरियो मकै बेच्नेमाथि महानगर प्रहरीले लछारपछार गरेको छ ।

शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको उक्त भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गर्दै गरेको देखिन्छ । तर, नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन् ।

यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो । निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो । दिनभर हरियो मैक पोलेर बेचेर दैनिकी गुजारा चलाउनेहरु माथि नगर प्रहरीले गरेको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा आलोचना गरिएको छ ।

महानगरको मेयरमा बालेन साह आएपछि आफ्नो काम देखाउनका लागि समेत गरिब र निमुखामाथि प्रहार सुरु भएको कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरेका छन् । काठमाडौंको सडकमा गरिब, अपांग, असहायले समेत भीख वा भिक्षा माग्न नपाइने महानगरले जनाएको छ ।

प्रतिक्रिया