६४औँ वर्षमा नेपाल एअरलाइन्स : सेवा विस्तार र अहिलेसम्मका तस्बिरहरु
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार
  • हरि गोपाल प्रधान


नेपाल एअरलाइन्सले ६४ वर्षको यात्रा पूरा गरेको छ । आजकै दिन अर्थात विक्रम सम्बत २०१५ असार १७ गते नेपाल वायुसेवा निगम (तत्कालिन शाही नेपाल वायुसेवा निगम)को स्थापना भएको थियो । देशभित्र र बाहिर सुरक्षित, सुव्यवस्थित, सुपथ एवं उचित रूपबाट हवाई यातायात सेवा प्रदान गर्ने हेतु नेपाल वायुसेवा निगमको स्थापना गरिएको हो ।

निगमले व्यापारिकलगायत अन्य उद्देश्यले हवाई यातायात सेवा चलाउने, उडान गर्ने र उड्डयनसँग सम्बन्धित सबै प्रकारको काम गर्दै आएको छ ।

वायुयानको उडान र तत्सम्बन्धी सबै प्रकारको शिक्षण–प्रशिक्षणको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय विमान कम्पनीहरूको सहयोग र सेवा लिने, आफ्नो र अरू विमान कम्पनीको वायुयानको मर्मत–सम्भार गर्ने, अरू कम्पनीद्वारा चलाइएका विमान कम्पनीको सेवासम्बन्धी कुरामा एजेन्ट र ठेकेदार भई काम गर्ने, सम्बन्धित क्षेत्रका अनुभवी संस्था वा व्यक्तिसँग मिलेर हवाईसेवा सञ्चालन गर्न सम्झौता गर्ने, आन्तरिक एवं अन्तर्राष्ट्रिय उडानका लागि सेवाको विकास र विस्तार गर्ने काममा निगम सक्रिय रहेको छ ।

निगमले हालसम्म चौध प्रकारका जहाजलाई आफ्नो उडानका लागि प्रयोग गरेको थियो । ती विमानहरू डगलस डीसी-३ डकोटा, फङ्सु हार्भेस्टर एएन-२, पिलाटस पोर्टर (पीसी-६), फोकर फ्रेन्डसिप (एफ-२७), एचएस ७४८ एभ्रो, ट्विनअटर डीएचसी ६-६००, बोइङ ७२७-१००, बोइङ ७५७-१००, चिनियाँ विमान MA 60 / Y12 E (यी विमानहरु प्राय सबै ह्याङगरमा रहेको छ) एयरबस ३२०-२०० र एयरबस ३३०-२०० रहेका छन् ।

सिटक्षमता २८ भएको र निगमले प्रयोगमा ल्याएको पहिलो विमान डगलस डीसी – ३ डकोटा थियो । सन् १९७३ सम्म सेवा दिँदै आएका डकोटाहरू त्यसपछि विस्थापित भए । फङ्सु हार्भेस्टर एएन-२ विमान १२ सिटक्षमताको थियो ।

यसलाई निगमले सन् १९६३ देखि आफ्नो सेवामा लगाएको थियो । छोटो समयको उडान गरी यी विमानहरू सन् १९६५ पछि विस्थापित भए । सन् १९६१ मा सेवामा लगाइएको सिङ्गल इन्जिनवाला पिलाटस पोर्टर (पीसी —६) नामक विमानको क्षमता ६ सिट थियो ।

नेपालजस्तो पहाडी मुलुकका साना विमानस्थलमा उडाउन सकिने यस्तो विमान निकै उपयोगी मानिएको थियो । त्यसबाट सन् १९९८ सम्म सेवा लिइएको थियो । फोकर फ्रेन्डसिप (एफ – २७) विमान सन् १९६६ देखि १९७० सम्म सेवामा लगाइएको थियो । ४४ सिट क्षमता भएको यो विमानबाट त्यतिखेर आन्तरिक र अन्तर्राष्ट्रिय उडानसमेत गरिएको थियो । सन् १९७० मा यो विमान भारतको नयाँ दिल्लीमा दुर्घटनाग्रस्त भएपछि सेवाबाट बाहिरिएको थियो ।

यसै गरी निगमले सन् १९७० मा ४४ सिट क्षमताको एचएस ७४८ एभ्रो विमान आफ्नो सेवामा लगाएको थियो । यसबाट अन्तर्राष्ट्रिय उडानका साथै पर्वतावलोकन उडान पनि गरिएको थियो । सन् २००० मार्चदेखि यस्तो विमान निगमको सेवाबाट बाहिरिएको थियो ।

सन् १९७१ देखि सेवामा लगाइएका ट्विनअटर डीएचसी ६–६०० विमानहरूले उडानक्षेत्रमा उल्लेखनीय योगदान गरेका छन् । १९ सिटक्षमताको यस्तो विमान पहाडी क्षेत्रको कुनाकुनासम्म सेवा पु¥याउन सफल भयो । अहिले पनि आन्तरिक उडानमा यो विमानको प्रयोग गरिँदैछ ।

सन् १९७२ मा बोइङ ७२७–१०० सेवामा लगाएपछि नेपाल जेट युगमा प्रवेश गरेको थियो । १२३ सिटक्षमताको यस्तो विमान निगमसँग २ वटा थिए र सन् १९९३ सम्म सेवामा संलग्न थिए । सन् १९८७ र १९८८ मा दुईवटा बोइङ ७५७–१०० सेवामा लगाइएपछि निगमले अन्तर्राष्ट्रिय उडानमा फड्को मारेको थियो ।

त्यतिखेर कर्णाली र गण्डकी नाम दिइएका ती विमानहरूमा १९० सिटक्षमता छ र अहिले ती दुईवटा विमान बोइङ्ग विक्री भैसकेको छ र एयसबस ३२०-२०० बाट १५८ सीट भएका २ थान र एयसबस ३२०–२०० दुई थान २७४ सिट क्षमता भएकाबाट अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ ।

निगमले पूर्वाञ्चल विकासक्षेत्रअन्तर्गत मोरङको विराटनगर, भोजपुरको भोजपुर, खोटाङको लामिडाँडा र थामखर्क, ताप्लेजुङको ताप्लेजुङ, सङ्खुवासभाको तुम्लिङटार, ओखलढुङ्गाको रुम्जाटार र सोलुखुम्बूको लुक्ला, फाप्लु र कागिलडाँडामा गरी १० ठाउँमा, मध्यमाञ्चल विकासक्षेत्रअन्तर्गत काठमाडौँको काठमाडौँ, रामेछापको रामेछाप र चितवनको भरतपुरमा गरी ३ ठाउँमा तथा पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत कास्कीको पोखरा, मुस्ताङको जोमसोम, मनाङको मनाङ र रूपन्देहीको भैरहवा गरी ४ ठाउँमा विमानसेवा सञ्चालन गर्ने गरेको छ ।

यसैगरी मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत बाँकेको नेपालगञ्ज, सुर्खेतको सुर्खेत, जुम्लाको जुम्ला, दाङको दाङ, मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको डोल्पा, रुकुमको रुकुमसल्ले र चौरजहारी, बाग्लुङ्ग गरी १० ठाउँमा तथा सुदूरपश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत कैलालीको धनगढी, बाजुराको बाजुरा र बझाङको बझाङ गरी ३ ठाउँमा विमानसेवा सञ्चालन गर्ने गरेको छ । यसरी निगमले मुलुकका हाल २५ ठाउँमा आन्तरिक विमानसेवाको विस्तार गरेको छ ।

यसै गरी निगमले अन्तर्राष्ट्रिय क्षेत्रतर्फ भारतको दिल्ली, मुम्वई, बैंगलोर, चीनको हङकङ र दुबई, कतारको दोहा र रियाद, थाइल्यान्डको बैङ्कक, मलेसियाको क्वालालम्पुर, जापानको नारिता गरी कूल १० ठाउँमा आफ्नो विमानसेवाले प्रत्यक्ष रूपमा सेवा पु¥याएको छ ।

निगमले ग्राउन्ड ह्यान्डलिङ सेवा पनि उपलब्ध गराएको छ । एयर अरेबिया, एयर चाइना, विमान बङ्गलादेश एयरलाइन्स, चाइना साउदर्न, ड्रागन एयर, ड्रुक एयर, इत्तिहाद एयरवेज, जीएमजी एयरलाइन्स, गल्फ एयर, जेट एयरवेज, जेट लाइट, कोरियन एयर, कतार एयरवेज र सिल्क एयर गरी कूल २० वटा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई यो सेवा उपलब्ध गराउने गरेको छ ।

निगमले जहाजमा वृद्धि गरी र सेवालाई पनि विस्तार गर्ने हो भने राष्ट्रिय ध्वजावाहकको साख बढ्ने र यसबाट नेपालको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भई मुलुकले आर्थिक समृद्धितर्फ गतिलो फड्को मार्ने निश्चित छ ।

प्रतिक्रिया