भारतलाई विजुली बेचेर प्राधिकरणले एक महिनामै कमायो १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १७ असार । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको १८ जेठदेखि आईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट विद्युत् दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ३ सय ६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३ सय ६४ मेगावाट विद्युत् आईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

एक महिना (जुन) मा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरु कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसतप्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

प्राधिकरणले यस अवधिमा विद्युत् बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार) मा थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो ।

यस अवधिमा ३ जुन (२० जेठ) मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत् बिक्री गरिएको छ । त्यसदिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत् बिक्री गरिएको थियो । सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत् बिक्री भएको छ । त्यसदिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत् बिक्री गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गएको वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताए । उनले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आउँदो वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यातको प्रक्षेपण गरिएको बताए ।

भारतसँगको विद्युत् व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने र पहिलो प्राथमिकता देशभित्रै विद्युत् खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको घिसिङले बताए ।

गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै विद्युत् प्राधिकरणले थप चार जलविद्युतगृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।

भारतको केन्द्रीय विद्युत प्रणालीअन्तर्गत दैनिक विद्युत बजार ९डे अहेड मार्केट०मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।

विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत निर्यात हुने प्राधिरकणले जनाएको छ ।

प्रतिक्रिया