राष्ट्रियसभाबाट ‘रेल्वे विधेयक’ फास्ट ट्रयाकमा पारित
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १७ असार । राष्ट्रियसभा बैठकबाट ‘रेल्वे विधेयक’ सर्वसम्मतले पारित भएको छ । शुक्रबार बसेको बैठकले यो विधेयकमाथि दफावार छलफल गरेर फास्ट ट्रयाकमा पारित गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बैठकमा दफावार छलफलका लागि विधेयक प्रस्तुत गरेका थिए । सो विधेयकमाथि ९ जना संशोधनकर्ता छलफलमा भाग लिएका थिए ।

प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा प्रमुख सचेतक देवेन्द्र दाहालले विधेयकमा केही विषय संशोधन गर्नुपर्ने बताएका थिए । उनले रेल चलाउने व्यक्ति २५ वर्षदेखि देखि ५० वर्ष उमेरका मात्रै हुनुपर्ने व्यवस्था गर्न आग्रह गरे ।

यस्तै, कांग्रेस सांसद प्रकाश पन्थले यात्रुलाई रोग लागेकालाई रेलमा नलैजाने जस्ता त्रुटीपूर्ण प्रावधान रहेकाले सच्याउन माग गरेका छन् । अपाङ्गता भएकाहरुलाई रेलको यात्रामा भाडादरमा पूरै छुट वा सहुलियत दिइनुपर्ने उनको माग छ ।

जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले विधेयकमाथि प्रस्तुत संशोधन प्रस्तावले विधेयकलाई समृद्ध बनाउने उद्देश्य राखेको भन्दै धन्यवाद दिइन् । प्राप्त संशोधनहरुलाई स्वीकार गरेको पनि उनले घोषणा गरिन् ।

अब यो विधेयक प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभाले पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनका रुपमा लागू हुनेछ ।

प्रतिक्रिया