ब्रिटेनले चीनलाई हङकङ सुम्पेको २५ वर्ष पूरा : हङकङ भ्रमणमा सी जिन्पिङ
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १७ असार । ब्रिटेनले चीनलाई हङकङ सुम्पेको आज शुक्रबार २५ वर्ष पूरा भएको छ । यसै अवसरमा आज चिनियाँ राष्ट्रपति सी जिन्पिङले हङकङ भ्रमण गर्दैछन् ।

सन् २०२० मा कोरोनाभाइरसको महामारी फैलिएपछि मुख्य भूमि चीन बाहिर यो उनको पहिलो यात्रा हो । यसअघि उनी सन् २०१७ मा हङकङ फिर्ता पाउनुको २०औँ वार्षिकोत्सव मनाउन त्यहाँ पुगेका थिए ।

यसअघि वर्षगाँठ विशेष समारोहमा त्यहाँ विरोध प्रदर्शन हुने गर्र्दथ्यो तर सन् २०२० मा सुरक्षा कानुन लागू भएदेखि असहमति जनाउने प्रदर्शनहरु हुन छाडेको छ ।

हङकङमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ र सहरभरि विभिन्न आधिकारिक कार्यक्रमहरू आयोजना हुँदैछन् ।
वर्षगाँठको सेरोफेरोमा हङकङमा ओमिक्रोन भेरिअन्टको प्रकोप देखिनुले सी जिन्पिङको भ्रमण रद्द हुन सक्ने अनुमान गरिएको थियो । तर, उनी बिहीवार तीव्र गतिको रेलमार्फत हङ्कङ पुगेको बीबीसीले जनाएको छ ।

उनलाई निवर्तमान प्रमुख कार्यकारी अधिकारी क्यारी लामले स्वागत गरेकी छन् । राष्ट्रपतिलाई भेट्नुअघि उनले आफ्नो कार्यालयको अन्तिम दिन कोभिड क्वारन्टीनमा बिताएकी थिइन्।

सीको भ्रमण तालिका सार्वजनिक गरिएको छै न। यद्यपि, विवरणहरूका अनुसार उनी रात बिताउनका लागि सीमा पार गरेर नजिकै रहेको शेन्जेन सहर पुगेका थिए । शुक्रबार उनी हङ्कङ फर्किने छन् र त्यहाँ उनले मन्तव्य दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया