काठमाडौंका सडकमा असहाय र अशक्तले समेत भीख मान्न नपाउने : यस्तो छ विकल्प
अखबार टुडे
प्रकाशित:
२०७९, १७ असार

काठमाडौं, १७ असार । काठमाडौं महानगरले सडकमा भीख माग्न निषेध गरेको छ । शुक्रबार एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको हो ।

असहाय, बिरामी, बेवारिसे, अशक्तलगायतले समेत अब सडकमा माग्न नपाउने भएको छ । यस्ता व्यक्तिका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्ने महानगरले जनाएको छ ।

तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चलिआएको परम्परअनुसार घर–घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।

माग्नेलाई सहयोग नगर्न पनि महानगरवाशीलाई अनुरोध गरिएको छ । पछिल्लो समय काठमाडौंमा ज्यालामा मान्छे प्रयोग गरेर भीख माग्न लगाउने क्रम बढेको छ । महानगरको ११औं अधिवेशनले यो नीति पारित गरेको हो ।

प्रतिक्रिया