काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित भएको छ ।
बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच अलग–अलग अघि बढ्ने समझदारी भएको छ । डा. भट्टराईले बुधबार राति यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए ।
वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भएपनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईले प्रस्ताव राखेका थिए ।
विभिन्न अनलाइनमा आएका खबरहरुअनुसार यादवले उक्त प्रस्तावमा सहमति जनाएका छन् । भविश्यमा गठबन्धन र सहकार्यको बाटो खुला राखेर अलग हुने उनीहरुबीच सहमति भएको बताइएको छ ।
सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने ? कसलाई रोज्ने भन्नेमा अलमल्ल परेका छन् । तर, हालको अवस्था हेर्दा यादव पक्षको बहुमत भएकाले जसपाको आधिकारिकता यादवसँग रहने सम्भावना देखिएको छ ।
उपेन्द्र समूहका नेता तथा सांसद्हरुले पार्टी विभाजन भए आफूहरूसँग २० केन्द्रीय कार्यकारिणी सदस्य र १६ सांसद् पनि आफूहरूसँग रहने दाबी गरेका छन् । अहिले जसपामा ३३ सदस्यीय कार्यकारिणी सदस्य र राष्ट्रियसभाबाहेक २१ सांसद् छन् । केही नेताहरुले सांसद १८ र कार्यकारिणी सदस्य संख्या २४ पुग्ने भनाइ छ ।
यसरी स्थानीय चुनावअघि र पछिसम्म पनि पार्टीभित्र बहुमतमा रहेका अध्यक्ष भट्टराई अहिले आएर अल्पमतमा परेको देखिन्छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरू हेरफेर भएसँगै जसपाले पनि आवश्यकताअनुसार मन्त्री फेर्ने निर्णयका कारण उनी अल्पतमा पर्ने देखिन्छ ।
मन्त्री हेरफेरको निर्णय गरेसँगै अध्यक्ष भट्टराई पक्षका नेता तथा सांसदहरू तितरबितर भएका छन् । अध्यक्ष भट्टराईको पक्षमा रहेका नेता तथा सांसदहरू उपेन्द्रतिर लाग्न थालेका छन् ।
अशोक राई यादवसँगै रहने
यसैबीच जसपाका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्रसँगै रहने अशोक एक नेताले बताए ।
उनका अनुसार बाबुराम तत्कालिन नयाँ शक्तिको टिम लिएर जाने सम्भावन रहेको छ । नयाँ शक्तिबाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहने उनको भनाइ छ ।