१३० जनाको ज्यान गएको पेरिस आक्रमणका दोषीले पाए फ्रान्सको इतिहासकै कठोर सजाय
अखबार टुडे
प्रकाशित:
२०७९, १६ असार

काठमाडौं, १६ असार । सन् २०१५ मा पेरिस आक्रमणको एक मात्र जीवित आक्रमणकारीलाई आतङ्कवाद र हत्याको दोषी ठहर गरिएको छ ।

अदालतले १ सय ३० जनाको ज्यान गएको उक्त घटनामा संलग्न सलाह अब्दस्लामलाई दोषी ठहर गर्दै दुर्लभ किसिमको पूर्ण आजीवन कैदको सजाय सुनाएको हो ।

उनको पूर्ण आजीवन कैदको अर्थ ३० वर्षपछि पनि उनी जेलबाहिर हुने सम्भावना ज्यादै न्यून छ । यो फ्रान्समा अपराधीलाई दिइने सबैभन्दा कडा सजाय हो र अदालतले विरलै यो सजाय सुनाएको इतिहास छ ।

अदालतले आक्रमणमा संलग्न १९ जनालाई दोषी ठहर गरेको छ । जस्मा छ जना मृत्यु भइसकेको जनाइएको छ ।

आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा लामो सम्यसम्म चलेको यो मुद्धाको सुनुवाइ गत सेप्टेम्बरमा सुरु भएको थियो । विगत नौ महिनादेखि पीडित, पत्रकार र मृतकका परिवार पेरिस अदालतबाहिर मुद्धाको सुनुवाइ सुन्न उपस्थित हुने गर्दथे ।

सुनुवाइ सुरु हुँदा सलाहअब्दस्लामले आफूलाई इस्लामिक स्टेट समूहको सैनिक भएको बताउँदै विद्रोही भावमा प्रस्तुत भएका थिए । तर पछि अब्दस्लामले पीडितहरूसँग माफी माग्दै अदालतलाई आफ्नो अन्तिम जबाफमा आफू ‘हत्यारा नभएको’ बताउँदै हत्यारा ठहर गर्नु अन्याय हुने बताएका थिए ।

सुनुवाइको समयमा उनले आफूले लगाएको आत्मघाती बम नपड्काएको र सहरबाहिर फ्यालेको दाबी गरेका थिए । तर अदालतले उनले लगाएको बममा समस्या रहेको प्रमाण बुझेको थियो जसले गर्दा उनले अन्तिम समयमा मन परिवर्तन गरेको दाबीलाई मानेन ।

सन् २०१५ नोभेम्बर १३ मा फ्रान्सको राजधानकी पेरिसका बार र रेस्टुराँहरू, राष्ट्रिय फुटबल रङ्गशाला र साङ्गीतिक स्थलमा भएका आक्रमणहरूमा १३० जनाको ज्यान जानुका साथै सयौँ व्यक्ति घाइते भएका थिए ।

अदालतले १९ जनालाई आक्रमणका लागि दुई वर्षदेखि पूर्ण आजीवन कैदसम्म जेल सजाय सुनाएको छ । अन्य छ प्रतिवादीहरू आक्रमणमा मारिएको विश्वास गरिएकाले उनीहरूको अनुपस्थिमै सुनुवाइ भएको थियो । – बीबीसीबाट

प्रतिक्रिया