फिफाको निर्णय : कतारमा हुने विश्वकप-२०२२ मा प्रत्येक टोलीमा २६ जना खेलाडी रहन पाउने
अखबार टुडे
प्रकाशित:
२०७९, १६ असार

काठमाडौं, १६ असार । फिफाले कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने देशको राष्ट्रिय टोलीमा २६ जना खेलाडी रहन पाउने निर्णय गरेको छ । कोरोनाभाइरस महामारी सुरु हुनुअघि राष्ट्रिय टोलीमा २३ खेलाडी हुने गर्थे ।

देशभित्र भएका प्रतियोगितासँग अनुकूल हुनेगरी फिफाले अहिले राष्ट्रिय टोलीमा समाविष्ट हुने खेलाडीको संख्या बढाउन दिएको हो । फिफाका अनुसार अब एउटा खेलमा १५ जना वैकल्पिक खेलाडी राख्न पाइनेछ । यसको अर्थ टोलीमा समाविष्ट सबै खेलाडीले खेल्न पाउन सक्छन् ।

बीबीसीले उल्लेख गरेअनुसार इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले त्यस्तो प्रबन्ध मिलाउनुपर्ने माग गर्दै आएका थिए । ‘सबै खेलाडी सबै खेलका लागि उपलब्ध हुनुपर्छ भन्ने मलाई लाग्छ’ उनले गत एप्रिलमा भनेका थिए ।

‘यदि टोली ठूलो हुने हो भने त्यस अवस्थामा कुनै खेलमा सबै जना फेरिन सक्ने हुनुपर्छ’ उनको भनाइ उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यसपालि विश्वकप फुटबलमा ३२ देश सहभागी हुँदैछन् । आगामी अक्टोबर २० सम्म टिमले आफ्नो टोलीबारे निर्णय गरिसक्नुपर्नेछ । त्यसको ठिक ३० दिनपछि सेनिगल र द नेदरल्यान्ड्सबीच अल तुमामा रंगशालामा पहिलो खेल हुनेछ ।

प्रतिक्रिया