डलरको मूल्यमा कीर्तिमानी, नेपाली रुपैयाँको अवस्था हालसम्मकै कमजोर
अखबार टुडे
प्रकाशित:
२०७९, १५ असार

काठमाडौं । अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । उच्च मागसँगै अमेरिकी डलरको भाउ हालसम्म नै उच्च पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको डलरको बिक्री दर अनुसार अब एक डलर खरिद गर्न १२६ रुपैयाँ ३४ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्नेछ । जुन हालसम्मकै नेपाली रुपैयाँको कमजोर अवस्था हो ।

रुस युक्रेन युद्धका कारण महँगो भइरहेको डलरको भाउका कारण पछिल्लो तीन महिना यता डलरको मूल्य बढ्नेक्रम तीव्र देखिएको छ ।

पछिल्लो साता हालसम्मकै उच्च डलरको बिक्री दर १२५ रुपैयाँ ६६ पैसा थियो । तर, झण्डै एक साता केही पैसाले घटेर स्थिर रहेको डलरको मूल्य बुधबार भने पुनः बढेर नयाँ कीर्तिमानीमा पुग्यो ।

डलरको भाउ बढ्दा भारतीय रुपैयाँ प्रत्यक्ष रुपमा अवमूल्यन भइरहेको छ । भारतीय रुपैयाँसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ भारतीय रुपैयाँसँगै प्रभावित बनिरहेको छ । डलरको मूल्य आकासिदा अध्ययन तथा भ्रमण र आयातका लागि नेपालीले खर्च गर्नुपर्ने रकमको भार थपिने छ ।

प्रतिक्रिया