काठमाडौं, १५ असार । अहिले दशेका अधिकांश स्थानमा वर्षा भइरहेको छ । आज देशभर भारी वर्षाको सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, अहिले देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ ।
काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन । बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी सबै क्षेत्रमा हल्का देखि मध्यम वर्षा भईरहेको र यो अवस्था दिनभरि नै रहनसक्ने सम्भावना रहेको छ।
कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास स्थानमा वर्षा भइरहेको छ ।
यी स्थानमा थप वर्षा हुने भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेका् बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यस्तै, कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ । कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको महाशाखाले जनाएको छ ।
नदीतटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा विहान १० बजेसम्म विषेश सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरेको छ ।
यस्तै, रौतहटको गौर र आसपासको क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।