बामदेवले घोषणा गरेको नयाँ पार्टीमा ७ उपाध्यक्ष र १५ स्थायी कमिटी सदस्य
अखबार टुडे
प्रकाशित:
२०७९, १४ असार

काठमाडौं, १४ असार । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।
मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतमले नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गरेका हुन् ।

गौतम पार्टीको संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताए । घोषणा अनुसार १ अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् ।

यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले बताए । उनका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।

पार्टी घोषणासभामा पदाधिकारीको भने उनले घोषणा गरेनन् । यस्तै पार्टीले सबै कम्युनिस्ट पार्टीलाई एकढिक्का बनाउन लक्ष्य लिएको छ । त्यसका लागि गौतम संयोजक रहेको सचिवालय निमार्ण गर्ने र त्यसले अरु दलहरुसँग वार्ताका लागि समन्वय गर्ने उक्त पार्टीले जनाएको छ ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गरेका हुन् ।

प्रतिक्रिया