बीआरआइलाई चुनौती दिन जी सेभेनद्वारा पीजीआइआई योजना सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०७९, १३ असार

काठमाडौं, १३ असार (एजेन्सी) । चीनको बेल्ट एण्ड रोड योजनालाई चुनौती दिन जी सेभेन राष्ट्रहरुले ६ सय विलियन डलर खर्च गर्ने भएका छन् ।

जर्मनीमा आयोजित जी सेभेनको शिखर सम्मेलनले द पार्टनरशीप फर ग्लोबल इन्फ्रास्टक्चर एण्ड इन्भेष्टमेन्ट (पीजीआइआई) नाम दिइएको योजना सार्वजनिक गर्दै उक्त रकम खर्च गर्ने घोषणा गरिएको हो ।

सम्मेलनमा चीनको बीआरआइ योजनाले थुप्रै देशहरुलाई ऋणको पासोमा पारेको भन्दै आलोचना पनि गरिएको छ । पीजीआइआईे कुनै सहयोग वा दान नभई एउटा विशुद्ध लगानी हो जसले सबैलाई फाइदा पुर्याउने उनीहरुको तर्क छ ।

पीजीआइआइले प्रजातन्त्रका लागि साझेदारी गर्दै ठोस उपलब्धि हासिलका लागि रकम खर्च गरिने पनि जी सेभेनका नेताहरुले बताएका छन् । आगामी पाँच वर्षमा ६ सय विलियन रकम जुटाएर निम्न तथा मध्य आय भएका देशहरुका पूर्वाधार आयोजनाहरुमा खर्च गर्ने बताइएको छ ।

योजनामा अमेरिका एक्लैले २ सय विलियन योगदान गर्ने घोषणा पनि गरेको छ भने युरोपेली युनियनले ३ सय विलियन युरो योगदान गर्ने घोषणा गरेको छ । चीनले बीआरआइ योजनामार्फत विभिन्न देशहरुमा पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै गएपछि पश्चिमा देशहरु बीआरआईको काउन्टरमा उत्रिएका हुन् ।

प्रतिक्रिया