युक्रेनको राजधानी कीभमा दर्जनौँ क्षेप्यास्त्र प्रहार
अखबार टुडे
प्रकाशित:
२०७९, १३ असार

काठमाडौं, १३ असार । रुसले युक्रेनको राजधानी कीभ क्षेत्रमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको छ ।

विश्वका धनी राष्ट्रहरूको समूह ‘जी सेभेन’का नेताहरूले युक्रेन युद्धलाई छलफलको शीर्ष विषय बनाएर दक्षिण जर्मनीको बाभेरियामा तीन दिन लामो शिखर सम्मेलन सुरु गरेपछि बेला रुसले युक्रेनको राजधानी कीभ क्षेत्रमा १४ वटा क्षेप्यास्त्र प्रहार गरेको हो ।

आक्रमणका कारण कीभस्थित एक आवासीय भवन ध्वस्त भएको बीबीसीले जनाएको छ । घटनाका क्रममा कम्तीमा एक जनाको मृत्यु र एक सात वर्षीया बालिकासहित छ जना घाइते भएका छन् । कीभको पश्चिममा रहेको सर्नी सहरमा तीन जनाको ज्यान गएको र केही भग्नावशेषमा पुरिएको बताइएको छ ।

कीभका अधिकारीहरुका अनुसार केही मिसाइल बेलारुसबाट प्रहार गरिएको थियो । रुसी रक्षा मन्त्रालयले आइतवार कीभको उत्तरी चेर्निहाइभ र राजधानीको पश्चिममा रहेको झिटोमिर र ल्भिभ क्षेत्रमा रहेको युक्रेनी सेनाको तालिम केन्द्रहरूमा उच्च क्षमता भएका अस्त्रहरू प्रहार गरेको बताएको छ ।

पश्चिमा राष्ट्रलाई तर्साउने उद्देश्यले रुसले किएभमा आक्रमण गरेको हुन सक्ने विश्लेषण गरिएको छ । किएभका मेयर भिटाली क्लिट्स्कोले यी प्रहारहरू जी सेभेन सम्मेलन अघि युक्रेनलाई धम्क्याउने प्रयास स्वरूप भएको बताए ।

ठूला प्रारम्भिक असफलताहरू पछि रुसले युक्रेनको कडा प्रतिरोधको बाबजुद पूर्वी क्षेत्रमा केही प्रगति गरेको छ र हाल भग्नावशेषमा परिणत भएको मुख्य युक्रेनी सहर सेभेरोडोनेट्स्कलाई अन्ततः शनिवारदेखि नियन्त्रणमा लिएको छ । युक्रेनी सेनाहरू रुसी प्रहारभन्दा पर भए पनि सैन्य विश्लेषकहरूले अब औद्योगिक पूर्वी डोनबास क्षेत्रमा युद्ध सङ्घर्षपूर्ण हुने बताएका छन् ।

किएभमा रुसको आक्रमणपछि जी ७ का सदस्य राष्ट्रका नेताहरुले रुसमाथि प्रतिबन्ध कडा पार्दै रुसी बहुमूल्य रत्न एवम् धातुको आयात रोक्ने घोषणा गरेका छन् । उनीहरुले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया