माधवलाई योगेशको शुभकामना- २ सय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्
अखबार टुडे
प्रकाशित:
२०७९, १३ असार

काठमाडौं, १३ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा रहिरहन शुभकामना दिएका छन् ।

माधव नेपाल र आफ्नो सम्बन्धबारे १० बुँदामा लेख्दै नेपाललाई २ सय वर्ष बाँच्न र सधैं पदमा रहिरहन शुभकामना दिएका हुन् ।

अध्यक्ष नेपालप्रति सचिव भट्टराईले आइतबार दिएको अभिव्यक्तिलाई लिएर एकीकृत समाजवादीका कार्यकर्ताले आलोचना गरेका थिए । भट्टराईले आइतबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै माधव नेपालले अब सन्यास लिए हुने बताएका थिए । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा माधव नेपालले एमालेका १० भाइहरू दास भएर बसेको टिप्पणी गरेका थिए ।

त्यसप्रति लक्षित गर्दै सचिव भट्टराईले लेखेका छन्, ‘कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काएँ । समाजबादीका युवाको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरू खुसी हुनेगरी म भन्न चाहन्छु – कमरेड माधव नेपाल २ सय बर्ष बांच्नुहोस् । पदमा रहिरहनुहोस्, शुभकामना !’

त्यसपछि नेपाल र आफ्नो सम्धन्ध बारेमा योगेशले लेखेका १० बुँदा यस्ता छन् ।
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
२. वहाँमा थुप्रै राम्रा गुण छन् । जसको खुलेर प्रशंसा गरेको छु । कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् । र यो जारी रहने छ ।
३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९ ) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हांै ।
४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
५. सातौँ महाधिवेशनबाट वहाँ पुनः पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।
६. आठौं महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।
७. नवौं महाधिवेशनमा वहाँ पुरानै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।
८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो । मैले मानिन र गरिन ।
९. नेकपा एमालेको बिभाजनको औचित्य छैन । यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो । अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।
१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरोबीचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएँ ।
११. म माक्र्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि माक्र्ससवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।

प्रतिक्रिया