काठमाडौं, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।
मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको अध्यक्ष नेपाललाई बुझाएको पत्रमा उल्लेख छ ।
मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् । उनले औपचारिक घोषणा भने साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत गर्ने बताए ।
शुक्रबार आलेले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । सोही अनुसार मन्त्री आलेले राजीनामा गर्ने प्रतिबद्धता पत्र बुझाएको बताइएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिडेको जानकारी दिएका थिए ।
जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।