युक्रेनको सेभेरोदोनेत्स्क सहर पूर्णरुपमा रुसी सेनाको कब्जामा
अखबार टुडे
प्रकाशित:
२०७९, १२ असार

काठमाडौं, १२ असार (एजेन्सी) । हप्तौंको लडाइँपछि युक्रेनको सेभेरोदोनेत्स्क सहरलाई रुसी सेनाले पूर्ण रूपमा कब्जा गरेको छ । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो ।

त्यहाँका मेयर ओलेक्सान्डर स्ट्राइकले भने, ‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन् ।’ उनले एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेको र ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक रहेको बताए ।
‘यी मानिसहरूले आफ्नो जीवनको लगभग तीन महिना बेसमेन्टमा बिताएका छन् । यो भावनात्मक र शारीरिक रूपमा कठिन छ’, उनले भने ।

रुसी र रुस समर्थक सैनिकहरूले एजोट प्लान्ट कब्जा गरेर त्यहाँ शरण लिइरहेका ८ सय सर्वसाधारणलाई खाली गरेका मस्कोलाई समर्थन गर्ने पृथकतावादीहरूले दावी गरेका छन् ।

एक टेलिग्राम सन्देशमा पृथकतावादी अधिकारी आन्द्रेई मारोच्कोले रुसी सेनाले अजोट प्लान्टलाई पूर्ण नियन्त्रण लिएको दाबी गरेका छन् ।

रुसी सेनाले युक्रेनको महत्वपूर्ण शहर मारियुपोलपछि नियन्त्रणमा लिएको यो शहर पनि केमिकल प्लान्टका लागि प्रख्यात छ । रुसी सेना अब युक्रेनले अर्को शहर लिसिचान्स्कतर्फ अघि बढेको जनाइएको छ ।

रुस र युक्रेनबीच भएको युद्ध ५ महिनामा प्रवेश गरिरहँदा युक्रेनतर्फ ठूलो क्षति भएको छ । युद्धका क्रममा प्रत्येक दिन २ सयको हाराहारीमा युक्रेनी सेनाको मृत्यु हुने गरेको बीबीसीलगायतका अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

प्रतिक्रिया