रुसले बेलारुसलाई पारमाणविक अस्त्र प्रणाली प्रदान गर्ने, युद्धमा होम्न प्रयास गरेको आशंका
अखबार टुडे
प्रकाशित:
२०७९, १२ असार

काठमाडौं, १२ असार । रुसले बेलारुसलाई छोटो दूरीका पारमाणविक अस्त्र प्रणाली प्रदान गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । समाचारहरुका अनुसार इस्कान्डर–एम नामक उक्त प्रणालीले ‘परम्परागत र पारमाणविक दुवै प्रकारका बलिस्टिक र क्रुज क्षेप्यास्त्रहरू प्रहार गर्न सक्ने’ उनको भनाइ छ । त्यस्ता प्रणालीहरूको मार हान्ने क्षमता ५०० किलोमिटर टाढासम्म रहेको बतान्छ ।

गत फेबु्रअरीमा २५ मा राष्ट्रपति पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेपछि रुस र पश्चिमा देशहरूबीच तनाव बढेको छ । बीबीसीका अनुसार पुटिनले त्यतिबेलादेखि नै थुप्रै सन्दर्भमा पारमाणविक अस्त्रका बारेमा बोलेका थिए, जसलाई केहीले पश्चिमी देशलाई हस्तक्षेप नगर्न दिइएको चेतावनीको रूपमा व्याख्या गरेका छन् ।

पुटिनले सेन्ट पिटर्सबर्गमा रुसले बेलारुसी लडाकु विमानहरूलाई पारमाणविक अस्त्र बोक्न सक्ने गरी परिमार्जन गर्न मद्दत गर्ने पनि बताएको बीबीसीले उल्लेख गरेको छ ।

शनिबार युक्रेनले हप्तौँको भीषण लडाइँपछि रुसी सेनाले सेभेरोडोनेट्स्कलाई पूर्ण रूपमा कब्जा गरेको जनाएको छ । रुसले पूर्वी युक्रेनको सो सहर नियन्त्रणमा लिएपछि लगभग लुहान्स्क र डोनेट्स्क क्षेत्रका थुप्रै भूभाग नियन्त्रणमा राख्न सक्छ । डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई डोन्बास भनिन्छ, जुन एउटा ठूलो औद्योगिक क्षेत्र हो ।

शनिबार साँझ भिडिओ सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका आफ्ना सबै सहरहरू फिर्ता लिने दाबी गरेका छन् । तर, उनले रुससँगको युद्ध भावनात्मक रूपमा कठिन चरणमा प्रवेश गरेको र अझै कति प्रहार र नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताएको समाचारहरुमा जनाइएको छ । शनिबार पनि रातभर रुसले युक्रेनको उत्तर र पश्चिममा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ ।

किभको पश्चिममा रहेको सर्नी सहरमा कम्तीमा तीन जनाको मृत्यु भएको र थप मानिस भग्नावशेषमा पुरिएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् । केही रकेट बेलारुसबाट प्रहार गरिएको युक्रेनले जनाएको छ ।

बेलारुसले रुसलाई युक्रेन युद्धमा सहयोग पु¥याएको छ, तर त्यहाँका सेना आधिकारिक रूपमा द्वन्द्वमा सहभागी भएको छैन । युक्रेनको गुप्तचर सेवाले क्षेप्यास्त्र प्रहार गर्नु बेलारुसलाई युद्धमा होम्न क्रेमलिनले गरेको प्रयासको अंश भएको बताएको छ ।

प्रतिक्रिया