एकीकृत समाजवादीबाट यसअघि सिफारिस भएकाहरु नै मन्त्री बन्दै
अखबार टुडे
प्रकाशित:
२०७९, १२ असार

काठमाडौं, १२ असार । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने नेकपा एकीकृत समाजवादीको सचिवालय समितिले गरेको निर्णय केन्द्रीय कमिटी बैठकले एकमतले अनुमोदन गरेको छ ।

काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेट बसेको एकीकृत समाजवादीको चौथो केन्द्रीय कमिटीको बैठकले गत जेठ २२ गते सचिवालय समितिले गरेको मन्त्री फेर्ने निर्णयलाई अनुमोदन गरेको हो ।

जेठ २२ गतेको सचिवालय समितिको बैठकले पार्टीबाट हाल सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भवानी खापुङलाई स्वास्थ्यमन्त्री बढुवा गर्ने निर्णय गरेको थियो ।

पुरानालाई फिर्ता बोलाएर भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा बढवा, जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने सचिवालय समिति बैठकले निर्णय गरेको थियो ।

यसबीच मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाएका थिए । उनीहरुले मन्त्रिपरिषद्मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका थिए ।

तर, यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम हेरफेर नहुने भएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताएका छन् । पार्टीले तय गरेको नाम हेरफेर नहुने र उनीहरुको शपथग्रहण तत्काल गराउन देउवालाई दवाव दिइने उनको भनाइ छ ।

प्रतिक्रिया