विज एयरले सेप्टेम्बरदेखि गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १० असार

काठमाडौं, १० असार । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरदेखि विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

हंगेरी बेस रहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको अबुधाबी उडान भर्ने तयारी गरेको हो ।

गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी थपिँदै गएका छन् ।

यसै क्रममा भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ । विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो ।

उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ । विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको छ ।

एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताएका छन् ।

प्रतिक्रिया