निरन्तर घटेको नेप्से परिसूचक १३.७८ अंकले बढ्यो
अखबार टुडे
प्रकाशित:
२०७९, १० असार

काठमाडौं, १० असार । तीन हप्तादेखि निरन्तर घटेको नेप्से परिसूचक शुक्रबार भने सामान्य अंकले वृद्धि भएको छ । शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा पुगेको हो ।

यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ ।

शुक्रबार २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा कम हो ।

नेप्सेका १३ उपसूचकहरूमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ ।

त्यस्तै शुक्रबार कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाईसी नेपालको शेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ ।

तर, आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ७.८८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया