काठमाडौं १० असार । मन्त्री हेरफेरविरुद्ध उभिएका एकीकृत समाजवादीका १० सांसदहरुले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र पठाएका छन् ।
आठ बुँदे ध्यानाकर्षण पत्रमा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने बताएका छन् । उनीहरुले आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै÷भोलि मन्त्रीहरुलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।’
नयाँ मन्त्रीको रुपमा गरिएको सिफारिस पनि असन्तुलित र असमावेशी भएको उनीहरुको भनाइ छ । उनीहरुले मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन माग पनि गरेका छन् ।
पत्रमा मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ र ६ जना सांसदले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका थिए । तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरुले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो ।
बजेट पारित भइसकेपछि फेरि पनि अध्यक्ष नेपालले मन्त्री हेरफेरको गर्नुपर्ने बताएपछि एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरु रुष्ट छन् । मन्त्रीका लागि नयाँ नाममा भवानी खापुङ, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीको नाम सिफारिस गरेको थियो ।