वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो
अखबार टुडे
प्रकाशित:
२०७९, १० असार

काठमाडौं, १० असार । वर्षा बाधक बन्दा नेपाल एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रद्द हुँदा युएई फाइनलमा पुगेको हो ।

मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।

तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन । उत्कृष्ट बलिङ गरेकी अश्मिनालाई ’म्याच बल’ दिइएको छ। खेलको नतिजा नआएपछि खेलको प्लेयर अफ दि म्याच भने घोषणा गरिएन ।

युएई यसअघि समूहमा अपराजित थियो । समूह विजेता बनेको आधारमा युएईलाई सेमिफाइनलमा विजेता घोषणा गरिएको हो । आफ्नो समूहमा उपविजेता बनेको नेपालका लागि हङकङसँगको हार अहिले महँगो बन्न पुग्यो ।

यो खेलमा नेपालले युएईलाई हराएको अवस्थामा एसिया कप खेल्न पाउने थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।

रूविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले समूह ’बी’मा ४ खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो ।

प्रतिक्रिया