अमेरिकी सिनेटद्वारा बन्दुक नियन्त्रण विधेयक पारित
अखबार टुडे
प्रकाशित:
२०७९, १० असार

काठमाडौं, १० असार । अमेरिकी सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ ।

यो झण्डै ३० वर्षयताकै हतियारसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण कानुन हो । यो विधेयक पारित गर्न १५ रिपब्लिकन सांसदले पनि साथ दिएका थिए । यसलाई कूल ६५ मध्ये ३३ मतले अनुमोदन गरिएको छ ।

यो विधेयक हाउस अफ रेप्रिजेन्टेटिभ ‘तल्लो सदन’ ले पारित गर्न बाँकी छ । तल्लो सदनबाट यो कानुन पारित भएपछि राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गर्नेछन् ।

नयाँ कानुनमा २१ वर्षभन्दा कम उमेरका खरिदकर्ताको पृष्ठभूमिबारे कडा अनुसन्धान गरिने र मानसिक स्वास्थ्य र विद्यालयको सुरक्षामा वृद्धिका लागि संघीय कोषमा १५ बिलियन डलर छुट्याएको छ ।

यो विधेयक यसकारण पनि महत्वपूर्ण छ कि दशकौँपछि पहिलो पटक प्रस्तावित बन्दुक नियन्त्रण कानुनले डेमोक्र्याट र रिपब्लिकन पार्टीको समर्थन पाएको छ । विगतका दिनमा रिपब्लिकन पार्टीले अमेरिकी बन्दुक कानुनलाई बलियो बनाउने प्रयासमा रोक लगाउने गर्दथ्यो ।

गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा सामूहिक गोलीबारी भएको थियो, जसमा ३१ जनाले ज्यान गुमाएका थिए । यस्ता घटनाकै कारण अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुनको खाँचो औंल्याइएको थियो ।

प्रतिक्रिया