नेपालले फिफा वरीयतामा सन् २०१४ पछिकै धेरै स्थान गुमायो
अखबार टुडे
प्रकाशित:
२०७९, ९ असार

काठमाडौं, ९ असार । फिफा वरीयतामा नेपाल एकै पटक ८ स्थान खस्केको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको हो ।

यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो । नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो । त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेको असर वरीयतामा समेत परेको हो ।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये नेपाल भारत र माल्दिभ्सपछि छ । भारत १०४ औं र माल्दिभ्स १५६ औं स्थानमा छ । नेपाल भन्दा पछि रहेका भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९६ औं र श्रीलंका २०७ औं स्थानमा छन् ।

विश्व वरीयतामा ब्राजिल शीर्ष र बेल्जियम दोस्रो स्थानमा यथावत रहँदा अर्जेन्टिना तेस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया