१२२ पालिका जित्दा बुर्जुवा र प्रतिक्रियावादीले जिब्रो टोकेका छन्: प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ९ असार

काठमाडौं, ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक धारालाई कता लैजाने भन्ने जिम्मा जनताले आफूहरूलाई दिएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले स्थानीय तह चुनावको नतिजाले तेस्रो निर्णायक शक्ति बनाएको बताए ।

उनले भने, ‘परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन् । कहीँ न कहीँ यसको चाबी जनताले माओवादी केन्द्रलाई नै दिएका छन् ।’

उनले उत्पीडित वर्गको हकहित संरक्षण र संविधान जोगाउनका लागि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै आफूहरूको ठूलो सफलता भएको बताए ।

उनले भने, ‘हामीले सोचेजति परिणाम आएन । यो पटक कम्तीमा पनि गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले पनि मेहनत गर्दा हाम्रो १७० देखि १७५ सम्म आउँछ, एमालेको पनि १६०–१७० तिर झर्छ । र, हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी हुन्छौँ र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौँ । तर हामी १२२ सिटमा सीमित भएका छौँ ।’

आफूहरूले आकलन गरेको भन्दा कम सिट जिते पनि अरूले भने माओवादी यति सिट जित्छ भन्ने अनुमान नगरेको उनको भनाइ छ । उनले भने, ‘ठूलठूला अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको मूल्यांकनमा हामीलाई ३० वटा पालिकाभन्दा आउँदैन भन्ने थियो । त्यसरी हेर्दा १२२ भनेको धेरै हो । बुर्जुवा र प्रतिक्रियावादीहरूले अहिले जिब्रो टोकेका छन् ।’

उनले आउने चुनावमा वामपन्थीको पहिलो पार्टी सम्भावना रहेको पनि बताए । ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ,’ उनले अघि भने, ‘भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।’

प्रतिक्रिया