प्रधानमन्त्री भन्छन्- श्रीलंकाको अर्थतन्त्र टाट पल्टियो, अब के हुन्छ भन्न सकिन्न्
अखबार टुडे
प्रकाशित:
२०७९, ९ असार

काठमाडौं, ३ असार (एजेन्सी) । श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ ।
बुधबार संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले टाट पल्टिएको बताएका हुन् ।

विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उनको भनाइ छ । ‘हाम्रो अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको छ,’ उनले भने ।

देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताए । उनले श्रीलंकाली अर्थतन्त्रलाई ‘ट्य्राक’ मा ल्याउन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको पनि बताए ।

श्रीलंकाली आयल निगम उधारोमा चुर्लुम्मै डुबेका कारण इन्धन आयात गर्न नसक्ने अवस्थामा पुगेको पनि प्रधानमन्त्री विक्रमसिंघले बताएका छन् । उनले संसद्लाई गराएको जानकारीअनुसार सिलोन पेट्रोलियम कोर्पोरेसन ७०० मिलियन डलर ऋणमा रहेको छ ।

श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उनले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले समस्या यो भन्दा चर्कियो भने के हुन्छ भन्न नसकिने पनि बताए ।

श्रीलंकाले पछिल्लो समय स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ । विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति लगभग ठप्प भएको छ भने खाद्यान्न तथा औषधिको चरम अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रतिक्रिया