काठमाडौं महानगरवासीले कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना तिर्नुपर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ९ असार

काठमाडौं, ९ असार । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याए कारबाही गर्ने भएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि रु ५०० जरिवाना गर्ने बताएको हो ।

फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको महानगरको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले सिसडोल र बञ्चेरडाँडा ल्यान्डफिल साइटका प्रभावित स्थानीय र त्यहाँका स्थानीय तहसँग आगामी १ साउनदेखि फोहोर स्रोतमै वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।

असार मसान्तसम्म मात्रै अहिलेकै अवस्थाको फोहोर फाल्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिका सहमत भएका छन् । तर, साउनबाट फोहोर नछुट्याइ अहिलेकै शैलीमा ल्यान्डफिल साइटमा लगिएमा फोहोर फल्न रोक्ने उनीहरूको चेतावनी छ ।

प्रतिक्रिया