दुई करोडको ‘डिल’मा मुछिएका न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक लगाइयो
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार

काठमाडौं, ८ असार । इच्छाराज तामाङलाई धरौटीमा छाड्न घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पदानमा रोक लगाइएको छ ।

न्यायपरिषद्को बुधबार बसेको बैठकले उनीमाथि छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय गरेको हो ।

कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बुधबार बसेको थियो । बैठकले उक्त प्रकरण छानबिनका लागि परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल छन् । समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार सार्वजनिक भएको थियो ।

उक्त अडियोमा सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका छन् । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् ।

तर न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् । साथै उनले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको उनले बताएका छन् ।

प्रतिक्रिया