घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायाधीशले भने, ‘मबाट कुनै अनुचित कार्य भएको छैन’
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार

काठमाडौं, ८ असार । इच्छाराज तामाङलाई धरौटीमा छाड्न घूस लेनदेनको अडियो सार्वजनिक भएपछि काठमाडौंका जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको बताएका छन् ।

बुधबार दिउँसो फेसबुकमा स्टाटस लेखेर सञ्चारमाध्यममा आएको अडिओ र समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले न्यायपरिषदले छानबिन गरे सहयोग गर्ने बताएका छन् ।

प्रभाव र दबाबका बाबजुद् निष्पक्ष भूमिका निर्वाह गरेको पनि उलने बताएका छन् । उनले लेखेका छन्, ‘मबारे आज आएका समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद् निष्पक्ष भूमिका निर्वाह गरेको छ । ममाथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछु ।’

सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार सार्वजनिक भएको थियो ।

उक्त अडियोमा सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका छन् । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् ।

प्रतिक्रिया