काठमडौं, ८ असार । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।
‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्नेगरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो । रवि लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए ।
अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । निवेदन खारेजीको माग गर्दै शाहुले दिएको उजुरीमा लेखिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’
उजुरीमा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति/समूह/संस्थालाई गम्भीर आघात पुगेको बताइएको छ । लामिछानेले ‘स्वतन्त्र’ शब्द जोडेर पार्टीको नाम घोषणा गरेपछि पक्ष र विपक्षमा बहस भइरहेका बेला साहुले निर्वाचन आयोगमा उजुरी परेको हो ।