काठमाडौं, ८ असार । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । उक्त शक्तिशाली भूकम्पमा भूक्मपमा परी कम्तीमा २५० जनाको ज्यान गएको र त्यो सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
बीबीसीले जनाए अनुसार कयौं घाइते भएका पनि छन् । एक स्थानीय अधिकारीले १५० जनाभन्दा बढी घाइते भएको विवरण आएको बताएका छन् ।
सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ ।
भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ । अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको छ ।
जानकारीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो ।