न्यायाधीश र वकिलबीच घुस डिल भएको अडियो सार्वजनिक, न्यायपरिषद् बैठक बस्दै
अखबार टुडे
प्रकाशित:
२०७९, ८ असार

काठमाडौं, ८ असार । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रुपमा न्यायपरिषदको बैठक डाकेका छन् ।

न्यायाधीश र वकिलबीच ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न दुई करोडको डिल भएको अडिओ सार्वजनिक भएपछि १ बजेका लािग न्यायपरिषदको बैठक बोलाइएको बुझिएको हो ।

सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार न्युज २४ टेलिभिजनले सिभिल प्रसारण गरेको थियो ।

उक्त अडियोमा सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका छन् । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् ।

अडियोमा न्यायाधीश कोइरालाले घुस लिने सम्बन्धमा डराउँदै ‘मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ’ भन्ने लगायतका कुरा गरिरहेका छन् । तर बाहिरिएको अडियो टेपमा अधिवक्ता पोखरेलले सबै जिम्मेवारी आफैँले लिने भन्दै नडराउन न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोजेका छन् । यद्यपि उक्त प्रकरणमा न्यायाधीशले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका थिए ।

मंगलबार साँझ उक्त अडियो सार्वजनिक भए बोलाइएको न्यायपरिषद्को आकस्मिक बैठकको मुख्य एजेण्डा अडियो टेप प्रकरणको विषय रहेको न्याय परिषद्का एक सदस्यले बताए । उनले भने, ‘आजको मुख्य एजेण्डा भनेको अडियो टेप प्रकरण नै हो । आजको बैठकले यस विषयमा तत्कालै केही निर्णय गर्नेछ । सम्भवतः न्यायाधीशलाई आजै जिम्मेवारीबाट मुक्त गरी तीन सदस्यीय जाँचबुझ समिति बनाएर छानबिन गर्न सक्नेछ ।’

प्रतिक्रिया