आकस्मिक बाहेकका सबै उडान बन्द गर्ने वायु सेवा सञ्चालक संघको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, ७ असार

काठमाडौं, ७ असार । वायु सेवा सञ्चालक संघ नेपालले भोलि बुधवारदेखि आकस्मिक बाहेकका सबै हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पूरा गर्नै नसकिने प्रावधान लागू गरेको भन्दै संघले भोलिदेखि आकस्मिक बाहेकका सबै उडान बन्द गर्ने घोषणा गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै जहाजको रात्रि बिसान गर्दा समस्या भएको भन्दै उड्डयन प्राधिकरणले आजदेखि लागू हुनेगरी काठमाण्डौबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्रावधान लागू गरेको थियो ।

प्राधिकरणले आफूहरूसँग एक पटक पनि छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सङ्घको भनाइ छ । संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सारेको सारेका छन् ।

अहिको व्यवस्थाअनुसार त्रिभुवन विमानस्थलबाट विना अवरोध उडान र रात्रि बिसान गर्न पाउनुपर्ने, यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका शुल्क फिर्ता लिनुपर्ने, त्रिभुवन विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड, मर्मतका लागि ह्याङ्गर लगायतका पूर्वाधार हुनुपर्ने लगायतका माग सङ्घले राखेको छ ।

सरकारको गैरजिम्मेवार निर्णयका कारण आफूहरूले सेवा नै रोक्नुपर्ने अवस्था आएकोमा यात्रुसँग क्षमा माग्दै सङ्घले यसबाट हुने असुविधाको जिम्मेवारी सरकारले नै लिनुपर्ने पनि जनाएको छ ।

प्रतिक्रिया