रवि लामिछानेले पार्टी घोषणा गर्दै भने, ‘यो युवाको पार्टी बनाउने छु’
अखबार टुडे
प्रकाशित:
२०७९, ७ असार

काठमाडौं, ७ असार । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले पार्टीको नाम सार्वजनिक गरेका छन् ।मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।

अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको तर आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले सुनाए । यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् ।

साथै उनले युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने पनि बताए । उनले भने, ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु । केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।’

लामिछानेले झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन लागेको बताए । उनले भने, ‘झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ, म डराएको होइन । तर सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा छ । हामीलाई हार्ने सुविधा छैन । राजनीति पत्रकारिता जस्तो छैन । यसलाई राजनीति जसरी नै गर्नुपर्छ । जहाँबाट तपाईंहरूको प्रतिक्रिया आउँछ त्यहाँबाट चुनाव लड्छु ।’

उनले यसपटक एकजना ‘बेथितिको मेन स्वीच’लाई संसद् छिर्नबाट रोक्ने प्रतिबद्धता भने जनाए । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने पनि घोषणा गरेका छन् ।

तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए ।पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने उनले घोषणा गरेका छन् ।

प्रतिक्रिया