हङकङको एउटा रेष्टुरेन्ट अज्ञात स्थानतर्फ लैजाँदै गर्दा साउथ चाइना सागरमा डुब्यो
अखबार टुडे
प्रकाशित:
२०७९, ७ असार

काठमाडौं, ७ असार (एजेन्सी) । हङकङको एउटा तैरिरहने रेष्टुरेन्ट समुद्रमा डुबेको छ । झण्डै ५० वर्षदेखि समुद्री बन्दरगाहमा सञ्चालन भइरहेको ‘जुम्बो’ नामको उक्त रेष्टुरेन्टलाई त्यहाँबाट डोरीले बाँधेर तानिँदै गरेको अवस्थामा रेष्टुरेन्ट डुबेको हो ।

जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा साउथ चाइना सागरमा डुबेको कम्पनीले जनाएको छ । एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले आफूहरु यो घटनाका कारण असाध्यै दुखित भएको तर यो क्रममा चालक दलका कोही पनि सदस्य घाइते नभएको जनाएको छ ।

उक्त रेस्टुरेन्ट मार्च २०२० मा कोभिडको महामारीका कारण बन्द गरिएको थियो । महारानी, टमक्रुज र रिचर्ड ब्रान्सन लगायतका ३० लाख भन्दा बढी पाहुनाले विगतका वर्षहरूमा यहाँको क्यान्टोनिज खानाको आनन्द लिएको बताइन्छ ।
यसलाई धेरै फिल्मले स्थान दिएको थियो । तर, महामारी सुरु भएपछि मानिसबीच भेटघाट र खानपिन बन्द भएपछि रेष्टुरेन्टलाई ठूलै घाटा भएको थियो ।

उक्त रेष्टुरेन्टलाई डोरीमा बाँधेर यात्रा गराउनुअघि समुद्री इन्जिनियरहरूलाई निरीक्षण गर्न लगाइएको थियो । उक्त रेष्टुरेन्टका मालिकका अनुसार इन्जिनियरले यसलाई यात्रा गराउन ‘ग्रिन सिग्नल’ दिएपछिमात्रै आफूहरुले कामको थालनी गरेका थिए ।

नयाँ सञ्चालकअन्तर्गत उक्त रेष्टुरेन्टलाई एक अज्ञात स्थानमा राखिने योजना बनाइएको थियो । ‘तर आइतबार प्रतिकूल अवस्थाको सामनापश्चात् रेष्टुरेन्ट डुब्यो,’ एबरडीन रेस्टुरेन्ट इन्टरप्राइजेजले भनेको छ । घटनास्थलमा पानीको गहिराइ हजार मिटरभन्दा बढी भएकाले उद्धार कार्यमा बाधा पुर्याइरहेको कम्पनीले जनाएको छ ।

उक्त रेष्टुरेन्टले वर्षौंदेखि आर्थिक समस्याहरूको सामना गरिरहेको थियो । अपरेटर मेल्को इन्टरनेशनल डेभलपमेन्टले अघिल्लो महिना सन् २०१३ देखि यहाँको व्यापार नाफामा नरहेको र ठूलो घाटा भइरहेको बताएका थिए ।

प्रतिक्रिया