मन्त्रिपरिषद बैठकको निर्णय : निगमका कार्यकारी अध्यक्षलाई निलम्बनदेखि राससमा नियुक्तिसम्म
अखबार टुडे
प्रकाशित:
२०७९, ७ असार

काठमाडौ., ७ असार । मन्त्रिपरिषदको बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । सोमबार बसेको बैठकको निर्णयहरु मंगलबार (आज) बिहान सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।

सरकारले संयक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने निर्णय गरेको छ । साथै, बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, बैठकले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्ष पदमा वरिष्ठ पत्रकार धमेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ । राससका नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् ।

मन्त्रिपरिषद्ले बैठकले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदरस्वरुप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

साथै, बैठकले नेपाल वायु निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने सरकारले निर्णय गरेको उनले बताए ।

सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय :

१. संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने ।
२. सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालय मार्फत गर्नै ।
३. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने ।
४. नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पु¥याएको योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने ।
५. नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने ।
६. कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
७. राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्षमा धर्मेन्द्र झा (धनुषा) लाई नियुक्त गर्ने ।

प्रतिक्रिया