रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता चीन, इटलीलाई दिने ग्यासमा कटौती
अखबार टुडे
प्रकाशित:
२०७९, ६ असार

काठमाडौं, ६ असार (एजेन्सी) । रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ ।
युक्रेन युद्धका कारण विभिन्न प्रतिबन्धका बाबजुद सहुलियतमा कच्चा तेल बेच्दा रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका अनुसार चीनमा रुसी तेलको आयात एक वर्ष अघिको तुलनामा मे महिनामा ५५ प्रतिशतले वृद्धि भएको छ । जसले साउदी अरबलाई चीनको सबैभन्दा ठूलो प्रदायकको रूपमा विस्थापित गरेको छ ।

कोभिड महामारी र सुस्त अर्थतन्त्रले माग घटेको भए पनि चीनले रुसी तेलको खरिदलाई तीव्र पारेको छ । चीनको रिफाइनिङ कम्पनी सिनोपेक र राज्यद्वारा सञ्चालित जेनहुआ आयल लगायतका चिनियाँ कम्पनीहरूले हालैका महिनाहरूमा रुसी कच्चा तेलको खरिदमा वृद्धि गरेका छन् ।

युरोप र अमेरिकाका खरिदकर्ताहरूले युक्रेनमाथिको युद्धलाई लिएर प्रतिबन्ध लगाएपछि रुसी ऊर्जालाई ठूलै छुट दिएका छन् । पूर्वी साइबेरिया प्रशान्त महासागर पाइपलाइन र समुद्री मार्गबाट चीनमा आयात हुने गरेको कच्चा तेल गत महिना लगभग ८ दशमलव ४२ लाख टन पुगेको थियो ।

चिनियाँ भन्सारको सामान्य प्रशासनको तथ्याङ्कअनुसार साउदी अरेबिया यसअघि चीनको कच्चा तेलको सबैभन्दा ठूलो स्रोत थियो । पश्चिमले युक्रेनको आक्रमणको लागि आर्थिक प्रतिक्रियालाई बढावा दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले ‘रूसको अर्थतन्त्रको मुख्य धमनी’लाई लक्षित गरेको बताएका थिए ।

ऊर्जा निर्यात रूसको लागि राजस्वको एक महत्वपूर्ण स्रोत हो । तर, यो कदमले पश्चिमी उपभोक्तालाई पनि असर गर्ने सम्भावना रहेको जानकारहरूको भनाइ छ ।

यसैबीच रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ । रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती गरेको हो ।

समाचार संस्था रोयटर्सले गाजप्रोमले आइतवार लगातार पाँचौँ दिन पनि मागेजति ग्यास नदिएको ईएनआईले जनाएको छ । ईएनआईले रुसबाट दैनिक ६३ मिलियन क्युबिक मिटर ग्यास आपूर्ति गर्दै आएकोमा गएको बुधवारदेखि ५० देखि ८० प्रतिशतसम्म मात्रै ग्यास प्राप्त भएको इटलीले जनाएको छ ।

रुसका प्रवक्ता दिभित्री पेस्कोभले मर्मतका कारण पछिल्ला केही दिनमा ग्यासको निर्यातमा कमी भएको दाबी गरे पनि इटलीका प्रधानमन्त्री मारिओ दाघ्रीले भने रुसले ग्यासमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया