सरस्वती पूजाको कथाले जित्यो एमी अवार्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ६ असार

काठमाडौं, ६ असार । अमेरिका निवासी नेपाली मूलका अभिनेता तथा निर्माता जसवन्त देव श्रेष्ठले अमेरिकामा भएको एमी फेस्टिभलमा एमी अवार्ड हात पारेका छन् ।

हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित अवार्ड कार्यक्रममा श्रेष्ठले वृत्तचित्र ‘फेस्टिभल अफ सरस्वति पुजा’बाट अवार्ड जितेका हुन् ।

क्यालिफोर्नियाको पाम स्प्रिङमा ‘नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्ट’ले आइतबार आयोजना गरेको अवार्ड समारोहमा उनले ट्रफी उचाले ।

उनले पहिलो नेपाली चलचित्र निर्माताका रुपमा प्यासेफिक साउथवेष्ट एमी अवार्ड जितेर इतिहास रच्न सफल भएका छन् । अहिलेसम्म उनका श्रृजनाहरु ९ पटक एमी अवार्डको नोमिनेशनमा परे पनि यसपटक मात्र अवार्ड जित्न सफल भएका हुन् ।

श्रेष्ठद्वारा निर्देशित फिल्ममा ज्ञान र कलाकी माता मानिने सरस्वती पूजाको महत्व र संस्कृतिका पाटोलाई चित्रण गरिएको थियो । एमी समारोहमा उनले ट्रफी उचाल्दै आफूलाई मतदान गर्ने एमीका सदस्यसहित नेपालीलाई धन्यवाद दिए ।

जितपछि उनले फिल्ममार्फत नेपाली संस्कृतिलाई संरक्षण र अघि बढाउन आफूलाई ऊर्जा मिलेको बताए । अवार्ड समारोहमा श्रेष्ठले भने, ‘नेपाल र नेपाली संस्कृतिको प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हो । फेस्टिभल शृंखलाको निर्माण र निर्देशन गर्नु भनेको नेपाली संस्कृतिको संरक्षण र विश्वलाई परिचय गराउन मद्दत गर्ने मेरो प्रयास हो ।’

जसवन्तले राजवल्लभ कोइराला अभिनित र रिक म्याकफारल्यान्डले निर्देशन गरेको फिल्म ‘हाइवे टु धम्पुस’मा पनि काम गरिसकेका छन् । एमी अवार्ड टेलिभिजनतर्फ, ग्रामी अवार्ड संगीत क्षेत्र, ओस्कार अवार्ड चलचित्र क्षेत्र र टोनी अवार्ड थियटर क्षेत्रका विश्व प्रतिष्ठित अवार्डहरु हुन् ।

प्रतिक्रिया