युक्रेन-रुस युद्ध : नेटोका महासचिव भन्छन्- युद्ध वर्षौँसम्म चल्न सक्छ
अखबार टुडे
प्रकाशित:
२०७९, ५ असार

काठमाडौं, ५ असार । पश्चिमा विश्वले युक्रेनलाई वर्षौँसम्म चल्न सक्ने लडाइँका लागि निरन्तर सहयोग गर्न तयारी गर्नुपर्ने नेटोका प्रमुखले बताएका छन् । नेटोका महासचिव येन्स स्टोलटेनबेर्गले युद्धको मूल्य उच्च भएपनि मस्कोलाई उसका सैनिक लक्ष्यहरू पूरा गर्न दिनु अझै घातक हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले दीर्घकालीन द्वन्द्वको सामना गर्न तयारी गर्नुपर्ने चेतावनी दिएपछि नेटोका महासचिवको पछिल्लो धारणा आएको हो । समाचारमा बताइएअनुसार स्टोलटेनबेर्ग र जोनसन दुवैले धेरै अस्त्रहरू उपलब्ध गराइए युक्रेनको विजयको सम्भावना बढ्ने बताए ।

‘हामीले यो लामो समय चल्न सक्छ भन्ने तथ्यलाई ध्यान दिएर तयारी गर्नुपर्छ । हामीले युक्रेनलाई सहयोग गर्न छाड्न हुन्न’ नेटोका प्रमुखले समाचारपत्र बील्डसँग भनेका छन्, ‘सैनिक सहयोग मात्रै होइन, बढ्दो ऊर्जा र खाद्यान्नको मूल्यका कारण यसको मूल्य अझ बढी पर्न सक्छ ।’

पश्चिमा सैनिक गठबन्धनका प्रमुखले युक्रेनलाई अझ आधुनिक अस्त्रहरू उपलब्ध गराइए त्यसले उक्त देशको पूर्वी डोन्बास भूभाग स्वतन्त्र हुने सम्भावना बढाउने उनको भनाइ छ ।

पछिल्लो केही महिनायता रुसी र युक्रेनी फौजहरूले युक्रेनको पूर्वमा रहेका भूभाग नियन्त्रणमा लिन लडाइँ गरिरहेका छन् । हालैका हप्ताहरूमा मस्कोले बिस्तारै कब्जा बढाउँदै गएको छ ।

सन्डे टाइम्समा लेख लेख्दै ब्रिटेनका प्रधानमन्त्री जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बिस्तारै ध्वंस गर्ने अभियान चलाएको’ र ‘क्रुरताका माध्यमबाट युक्रेनलाई घुँडा टेकाउन चाहेको’ बताएका छन् । लामो युद्धका लागि तयारी गर्नुपर्नेमा जोड दिँदै उनले समय महत्वपूर्ण रहेको लेखेका छन् ।

उनले थपेका छन्, ‘सबै कुरा युक्रेनले आफ्नो भूमि रुसले आफ्नो हमला गर्ने क्षमता विस्तार गर्नुभन्दा अघि नै जोगाउने क्षमता अभिवृद्धि गर्न सक्छ कि सक्दैन भन्नेमा निर्भर गर्छ ।’ जोनसनले युक्रेनको राजधानी किएभको शुक्रबार भ्रमण गरेका थिए ।
त्यस क्रममा उनले आफूलाई पुनः अस्त्रले सुसज्जित गर्ने मस्कोको प्रयासलाई पछि पार्ने हिसाबमा किएभलाई हतियार, गोलीगठ्ठा, बन्दोबस्तका सामग्री र तालिम उपलब्ध गराइनुपर्ने बताएको पनि बीबीसीले उल्लेख गरेको छ ।

बुधवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेस्नीकोभले युक्रेनको रक्षा सम्पर्क समूहका करिब ५० वटा देशका प्रतिनिधिलाई ब्रसल्समा भेटेर थप हतियार र गोलीगठ्ठा उपलब्ध गराउन अनुरोध गरेका थिए ।

युक्रेनका पश्चिमा साझेदारहरूले अहिलेसम्म उसलाई मुख्य हतियारहरू उपलब्ध गराइरहेका छन् । तर युक्रेनले आफ्नो रक्षाका लागि आवश्यक हतियारको सानो अंश मात्रै प्राप्त गरेको भन्दै थप शक्तिशाली हतियारहरूको माग गरेको छ ।

नेटोको आलोचना
रुसी अधिकारीहरूले बेलाबेलामा नेटोले युक्रेनलाई दिएको सैनिक सहयोगको आलोचना गर्ने गरेका छन् ।
बीबीसीलाई अघिल्लो साता दिएको अन्तर्वार्तामा रुसी विदेशमन्त्री सर्गेइ लाभरोवले पश्चिमा गठबन्धनमा युक्रेन आबद्ध हुने सम्भावना आक्रमणको प्रमुख कारण रहेको बताएका थिए ।

‘हामीले विशेष सैनिक कारबाही घोषणा ग¥यौँ किनभने हामीसँग पश्चिमा विश्वलाई युक्रेनलाई पश्चिमा गठबन्धनमा तान्नु अपराध हो भनेर बुझाउने अरू कुनै उपाय नै थिएन’ उनले भनेका थिए । युक्रेन नेटोको सदस्य होइन तर उसले उक्त गठबन्धनमा आबद्ध हुने इच्छा देखाएको छ । तर, त्यसका लागि कुनै समयसीमा भने तय भएको भइनसकेको समाचारहरुमा जनाइएको छ । -बीबीसी नेपाली

प्रतिक्रिया