एसपीपीबारे अध्यक्ष नेपालले भने- तत्कालीन प्रधानमन्त्रीलाई थाहा नहुने हामीलाई कसरी हुने ? कि ज्योतिषी हुनुपर्‍यो
अखबार टुडे
प्रकाशित:
२०७९, ५ असार

काठमाडौ., ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)बारे तत्कालीन प्रधानमन्त्रीलाई जानकारी हुनुपर्ने बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जानकारी नदिइकन सेनाले पत्राचार गरेको अभिव्यक्ति दिएका थिए । ओली नेतृत्वकै सरकार भएको समयमा सेनाले पठाएको पत्र सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए ।

आइतबार समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको विभिन्न मिडियाक सम्पादकहरुसँगको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘तत्कालीन प्रधानमन्त्रीले पत्र पठाउँदा थाहै दिइएन भन्नुभएको छ । यो कुरा सही वा गलत थाहा छैन । तत्कालीन प्रधानमन्त्रीलाई थाहा नभए हामी पूर्वप्रधानमन्त्रीलाई कसरी थाहा हुने ? कि अन्यरयामी हुनुप¥यो कि ज्योतिषी !’

राष्ट्रिय मुद्दामा संवेदनशील रहेको बताउँदै उनले अनुचित सम्झौता नहोस् भनेर सरकारलाई आफूहरूले भनिरहेको बताए ।
सत्ता गठबन्धनका शीर्ष नेतासँग प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात हुने सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिवद्धता जनाएको पनि उनको भनाइ छ ।

‘नेपालको हितमाथि आघात पुग्ने कुनै पनि सम्झौतामा मबाट हस्ताक्षर हुने छैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ’ उनले भने, ‘गृहमन्त्रीले पनि संसदमा यसबारे बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’

अध्यक्ष नेपालले एसपीपी फिर्ता गर्ने वा नगर्ने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको समेत बताए । तर, नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्र ठीक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाली सेनाले चिठी पठाउने कुरा कुटनीतिक हिसाबले ठीक थियो भन्ने प्रश्न खडा भएको छ । सेनाले अर्को देशको कुटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन ? त्यसमा को कसको भूमिका थियो भन्ने बारेमा छलफल हुनुपर्छ’ अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया