काठमाडौं, ५ असार । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।’
प्रवक्ता डा महतले नेकपा एमाले गएको स्थानीय तहको निर्वाचनपछि एजेण्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप थियो ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।