मन्त्री आलेले भने- कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार भएको छैन, सिसिटिभी फुटेज हेरे हुन्छ
अखबार टुडे
प्रकाशित:
२०७९, ४ असार

काठमाडौं, ४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गरेका छन् । उनले कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट पारेका हुन् ।

विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ ।

उनले भने– समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन । यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसिटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सिसिटिभी फुटेज उपलब्ध गराउन सक्नेछ ।’

कतिपय कामहरुमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर रहने भन्दै मन्त्री आलेले पछिल्ला दिनमा उडान संख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृतिम अभाव गराई आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि स्थानीय तहको चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उनले बताए ।

नेपाल वायुसेवाका अध्यक्षमाथि आएका कार्यालयभित्रै तथा सर्वसाधारण नागरिक र सेवाग्राहीको गुनासाका विषयलाई मन्त्रालयले अध्ययन गरेर अध्यक्षलाई सम्झाइबुझाइ गरी सुधारका लागि कैयौँ पटक मौका दिएपनि त्यसमा सुधार नआएको मन्त्री आलेले बताए ।

प्रतिक्रिया