युक्रेनलाई ईयूमा उम्मेदवार हैसियत दिन सिफारिस : रुसद्वारा ईयू र अमेरिकाको आलोचना
अखबार टुडे
प्रकाशित:
२०७९, ३ असार

काठमाडौं, ३ असार । युरोपेली आयोगले युक्रेनलाई युरोपेली संघ ईयूको सदस्यताका लागि उम्मेदवार हैसियत दिन सिफारिस गरेलगत्तै रुसले प्रतिक्रिया जनाएको छ ।

युरोपेली आयोगको उक्त रिफारिस भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपका जनताको वास्तविक स्वार्थ प्राथमिकतामा नपरेको दाबी गरेका छन् ।

बीबीसीले जनाएअनुसार रुसको सेन्ट पिटर्सबर्गमा आयोजित एक आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति पुटिनले आर्थिक प्रतिबन्धहरू लगाउनेलाई नै बढ्ता हानिकारक भइरहेको दावी गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘ईयू सदस्यताको बाटोमा भएको पहिलो कदम’ले आफूहरूको ‘जितलाई नजिक ल्याउने’ बताएका छन् ।

तर, पुटिनले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरूले गर्दा ईयूले ४०० अर्ब अमेरिकी डलरभन्दा धेरै रकम गुमाउन सक्ने बताएका छन् । युक्रेन युद्धका विषयमा ईयूले उसको ‘राजनीतिक सम्प्रभूता’ गुमाएको समेत पुटिनको आरोप छ ।

बीबीसीको रिपोर्टअनुसार रुसी राष्ट्रपतिले अमेरिकाले ‘संसारमा अन्य बलिया शक्तिकेन्द्र भएको कुरा नदेखेझैँ गरिरहेको’ बताए । उनले वासिङ्टनले ‘गलत’ देशलाई एक्ल्याउन खोजेको बताए ।

युक्रेन युद्धलाई उनले ‘विशेष सैन्य कारबाही’ भन्दै त्यसलाई सुरु गर्ने निर्णय कठिन भए तापनि आफूहरूलाई त्यसका लागि बाध्य पारिएको पुटिनको भनाइ छ । पुटिनको भनाइलाई उदृत गर्दै बीबीसी जनाएको छ, त्यसपछि उनले भने ‘विशेष कारबाहीका सबै लक्ष्यहरू निःसन्देह हासिल हुनेछन् ।’

ईयूको उम्मेद्वार हैसियत
शुक्रवार युक्रेनलाई सिफारिस गरिएको ईयूको उम्मेदवार हैसियत मोल्डोभालाई समेत दिइएको छ । तर, अर्को पूर्व सोभियत गणराज्य जोर्जियालाई भने दिइएन । समाचारहरुमा जनाइएअनुसार युरोपेली आयोगले अब युक्रेनले केही सुधारहरू गर्नुपर्ने र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने सर्त राखेको छ ।

युक्रेनको नीलो र पहेँलो रङको पहिरनमा उपस्थित भइ सम्बोधन गर्ने क्रममा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लेयनले युरोपेली सपनाका लागि युक्रेनीहरू ‘मर्न तयार भएको’ बताएकी छन् ।

युक्रेनलाई औपचारिक रुपमा उम्मेदवार हैसियत दिने वा नदिने निर्णयका लागि अर्को साता भेट्ने ईयू नेताहरूबाट आफूले सकारात्मक नतिजाको आशा गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

प्रतिक्रिया