स्याडोको ‘सानी नानी’ तयारी, चाँडै एमएमएस इन्टरटेनमेन्ट सार्वजनिक गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ३ असार

काठमाडौं, ३ असार । नेपालमा पनि हिपहप संगीतको लोकप्रियता बढ्दै गएको छ । दिनदिनै नयाँ हिपहप गायक तथा गायिकाको उदय हुनु यसैको उदाहरण हो ।

पछिल्लो समय हिपहप गायनमा मानव थापा चर्चा बटुल्नेक्रममा छन् । उनी नेपाली हिपहप संगीतको दुनियाँमा ‘स्याडो’ उपनामले चिनिन थालेका छन् । उनै हिपहप स्याडोको ‘सानी नानी’ चाँडै सार्वजनिक हुँदैछ ।

मनोरञ्जन दुनियाँमा छुट्टै स्थान बनाएको एमएमएस इन्टरटेनमेन्टले स्याडोको हिपहप ‘सानी नानी’ ल्याउन लागेको हो । एमएमएस इन्टरटेनमेन्टले सुगम संगीतलगायत हिपहपलाई पनि प्रमोशन गर्दै आएको छ । स्याडोको ‘सानी नानी’ यसैको पछिल्लो उदाहरण हो ।

केही समयअघि मात्र एमएमएसले स्याडोकै यमबुद्धप्रति समर्पित एउटा हिपहप सार्वजनिक गरेको थियो । एमएमएस इन्टरटेनमेन्ट एउट युट्युब च्यानल मात्र नभएर निर्माण कम्पनी पनि हो ।

भिटेन र मिस्टर डी जस्ता हिपहप गायकलाई चर्चामा ल्याउने काम एमएमएस इन्टरटेनमेन्टले गरेको थियो । जतिखेर नेपाली मिडियाले हिपहपलाई खाश वास्ता गरेकै थिएन ।

अध्यक्ष तथा गीतकार दर्पण राई भन्छन्, ‘मैले त्यो बेला नै नेपालमा हिपहपको राम्रो क्रेज आउँछ भनेर हिपहपलाई प्रमोशन सुरु गरेको हुँ । त्यो समयमा मिडियाले समेत हिपहपलाई खाश वास्ता गर्दैनथिए ।’

त्यसो त नेपालमा धेरै अगाडिदेखि हिपहप गाइँदै आएको हो । तर, अहिलेजस्तो ट्रेण्ड नै चाहिँ आएको थिएन । तर, पछिल्लो केही वर्ष यता नेपालमा पनि हिपहप संगीतको बजार फराकिलो हुँदै गएको छ । जसको श्रेय एमएमएस इन्टरटेनमेन्टलाई जान्छ भन्दा फरक पर्दैन ।

एमएमएसले सार्वजनिक गर्ने तयारी गरेको स्याडोको ‘सानी नानी’ले एक पटक हिपहप संगीतमा तहल्का मच्चाउने अपेक्षा गायक स्याडोको छ । उनी भन्छन्, ‘निकै मिहिनेत गरेका छौँ । दर्शक तथा श्रोताले रुचाउँछन् भन्नेमा सबै आशावादी छौँ ।’

स्याडोकै शब्द संकलन रहेको ‘सानी नानी’को भिडियोलाई अनिल मानन्धरले निर्देशन गरेका हुन् । मनोज कार्कीले सम्पादन गरेको यस भिडियोमा स्याडोसँगै समीक्षा बस्नेतलाई फिचरिङ गरिएको छ ।

प्रतिक्रिया