काठमाडौं, ३ असार । परराष्ट्रमन्त्री नारायण खड्काले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सन् २०१९ मा एसपीपी समझौता किन होल्डमा राखेको हो ? भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा त्यतिबेला नै खारेज गरेको भए अहिले विवाद उत्पन्न नहुने मन्त्री खड्काको धारणा थियो ।
खड्काले प्रश्न गरे, ‘सन् २०१९ मा किन होल्डमा राखेको ? प्रदीप ज्ञवालीले संसद्मा होल्डमा राखेका थियौं भन्नुभएको थियो । त्यतिबेला खारेज किन नगरेको ?।’
तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा र रक्षामन्त्री ईश्वर पोखरेलले समितिमा सन् २०१९ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले होल्डमा राखेको थियो भन्ने अभिव्यक्ति दिएका थिए ।
सन् २०१५ को एसपीपी सुरुवातको पत्राचारलाई लिएर सन् २०१९ को अवस्था नजोड्न मन्त्री खड्काले आग्रह गरे । सन् २०१९ मा एसपीपी इन्डोप्यासिफिक सैन्य गठबन्धनमा जोडिएको उल्लेख गर्दै त्यसपछि एसपीपी खारेज गर्न किन पत्र नपठाएको भन्ने प्रश्न मन्त्री खड्काको थियो ।
मन्त्री खड्काले वर्तमान सरकारले कुनै पनि हालतमा एसपीपी अगाडि नबढाउने तर एमाले सांसदहरूले भनेजस्तै कसको पालामा के भएको थियो भन्न समिति गठन गर्ने भए त्यसो गर्न पनि आग्रह गरे ।
मन्त्री खड्काले एसपीपीबारे अहिलेसम्म सेनाले पत्राचार गरेको बाहेकको प्रक्रिया नभएको बताए । एसपीपीलाई खारेज गर्छौं भनेर लेख्नु पर्ने भए सल्लाह गरेर प्रक्रियामा जाने उनले बताए ।