फेरि एक पटक कम्युनिस्ट एकीकरणको अभियानमा जुट्छु: वामदेव गौतम
अखबार टुडे
प्रकाशित:
२०७९, ३ असार

काठमाडौं, ३ असार । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिस्ट पार्टी एकीकरण अभियानमा जुट्ने बताएका छन् ।

शुक्रबार राष्ट्रियसभामा बोल्दै नेता गौतमले भने, ‘म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसायमा छु । केही समयमा घोषणा गरेर लाग्नेछु । सफल हुन्छु हुन्न थाहा छैन ।’

उनले कम्युनिष्ट पार्टी एक होस् भनेर आफूले कुनै नेताका बारेमा आलोचना टिप्पणी नगरेको बताए । उनले भने, ‘मेरो जीवनमा म निकै क्रिटीकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ, मदन भण्डारीको आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ, उहाँहरुसित सैद्धान्तिक राजनीतिक संघष हुँदै आएको हो । म त्यसैमा दिक्षितजस्तो भएँ ।’

नेता गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र अरुले सहयोग गरे हात थाप्न तयार हुने खालको रहेको बताएका छन् । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का सन्दर्भमा सम्झौता गर्न तयार भएको भन्दै उनले भने, ‘उहाँ देशको विकास हुन्छ भने के–के गर्नुपर्छ सबै गर्न तयार भइदिनुहुन्छ । कसैले सहयोग गर्छ हात थापिहाल्नुपर्छ । उहाँको चरित्र त्यस्तो हो ।’

देउवाको यो चरित्रले उनी स्वयंलाई पनि धेरै नोक्सान गरेको गौतमले बताए । ‘राष्ट्रलाई पनि नोक्सान गरेको छ । सम्भवतः कांग्रेसलाई पनि नोक्सान गरेको छ,’ उनले भने । गौतमले देउवा एसपीपी आउने वित्तिकै सम्झौता गर्न तयार भएको आरोप लगाए ।

गौतमले (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओली नै अगाडि बढाएको ठोकुवा गरे । अहिले तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आफुले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको पाएको उनले बताए ।

प्रतिक्रिया