काठमाडौं, ३ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।
शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताए ।
उनले भने, ‘कुन प्रधानमन्त्रीको पालामा, कुन रक्षामन्त्रीको पालामा यो संझौता अगाडि बढाइएको हो? यो सबै प्रष्ट पार्नुपर्छ । जनतालाई गुमराहमा राख्नु हुँदैन ।’ नेपाली सेना कुनै सैनिक गठबन्धनमा सम्लग्न हुन नहुने नेपालको भनाइ छ ।
नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताए । ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर नशाको बेला फसाउन सक्छन् । जिम्मेबार व्यक्ति सचेत हुनुपर्छ, उनले भने ।’
नेपालले अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला थाहै नपाई हस्ताक्षर गर्न सकिने भएकाले ख्याल गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका हुन् ।