काठमाडौं, २ असार । संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई छलफलका लागि शुक्रबार बिहान ९ बजे बोलाएको हो ।
नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको जनाइएको छ ।
बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल एसपीपीको अंग भइसकेको बताएको थियो । त्यसको केही घण्टापछि नेपाली सेनाले विज्ञप्ति जारी गर्दै कुनै पनि सैन्य गठबन्धनमा नरहेको जनाएको थियो ।
तर, बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको छ । सो पत्र सार्वजनिक भएसँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको जनाएको छ ।